बालाई चिठी


 मिति : २०८०/०५/२८ (कुशेऔंसी)

पुजनीय बा,

सेवा ढोग । 

वास्तवमा म सन्चो छु कि छैन ? मलाई नै थाहा छैन, तर सबैले "सन्चै छस् ?" भनी सोध्दा आजसम्म पनि मेरो उही उत्तर छ, "अँ, सन्चै छु ।" तपाइँ त यो भवसागरमा विरामी परिरहने शरिर त्यागेर सन्चो हुने बाटोमा यात्रा तय गर्नुभएको, पक्कै सन्चै हुनुहोला । यही पत्रको माध्यमबाट चिरशान्तिको कामना गर्छु । 

बा,  हरेक सन्ततीको लागि आफ्नो बाजति बलियो, जान्ने सुन्ने, बुझ्ने र धनी अरु कोही हुँदैन भन्ने सुनेको मैले तपाईँलाई धेरै बेहोर्न पाइन । प्रत्येक सन्ततीको लागि बा त एउटा रेलको लिग हुन्, जहाँ सन्ततीले आफ्ना इच्छा र चाहनाका डब्बाहरु जोडिएको जिवनको रेल कुदाउँछन्, बिना कुनै सङ्कोच, विना कुनै सन्देह ।

बा हुन त आफ्नाहरुको थाप्लोमा झर्न खोज्ने असिना आफूले छेक्नु पर्दोरहेछ । अरुले नदेखेका भविष्य आफूले देख्नु पर्दोरहेछ । घर चलाउनु पर्दोरहेछ, मन जलाउनु पर्दोरहेछ । अनि मन जलेर निस्किएको उज्यालोमा आफ्ना सन्ततीलाई पाइला चाल्न सिकाउनु पर्दोरहेछ ।

बा, म हिँजो जस्तो छैन नि । ठूलो भइसकेँ । हुन त पढेर कहिल्यै नसकिने रहेछ । त्यसमा पनि बाका सङ्घर्ष र त्यागहरु त झन कहिले पो पढिसकिएला र ? तैपनि दुनियाँले धेरै पढिस् भने, होला भनेर पढाउन थालेँ । अँ साँच्ची बा, म त अहिले मास्टर भएको छु नि । तपाइँले जस्तै मैले पनि अहिले साना साना नानीबाबुहरुलाई हात समाएर क, ख, ग... लेख्न सिकाउँदैछु । तपाइँले भन्नुभएको थियो बा, जानेको सिकाउनु, नजानेको सोध्नु । मैले को सँग सोध्नु बा नजानेको कुरा ? अहिलेका गुरुहरु किताबका कुरा सिकाउँछन् । मलाई जिन्दगी सिकाइदिने गुरु त तपाइँ हुनुभएको छ । तपाइँ मसँगै हुनुहुन्न भन्छ यो दुनियाँ, तर म त जब आँखा चिम्लन्छु अनि तपाइँलाई भेट्छु त । यही कुरा सुनाउँदा मलाई कतिले पागल भने, कतिले सन्की । खै ? म के हुँ ? को हुँ ? मेरो गन्तव्य के हो ? मेरा उद्देश्य के हुन् ? को मेरा हुन् ? के मेरो हो ? म आँफै अलमल परिरहेछु बा अचेल । मैले जे मेरो हो भन्छु, दुनियाँ त्यो तेरो भ्रम हो भन्छ । के तपाइँ भ्रम हो र बा ? के सत्य भ्रम हो ? के आत्मा भ्रम हो ? के परमात्मा भ्रम हो ? अनि मैले जे मेरो होइन भन्छु, दुनियाँ त्यो तेरो हो भन्छ । म सही कि गलत ? कसले छुट्याइदिने बा ? मलाई अरुको विश्वास नै छैन, जति तपाइँको छ । अनि हरपल मेरो सानिध्यमा आएर तपाइँले त फेरि मलाई यो दुनियाँ गलत छ बाबु, यहाँ तेरो केही छैन भन्नुहुन्छ त । अनि म कसरी गलत ? 

Photo: Humanath Dhakal (Writer's Father)
Sketch by: Krishna Marsani

बा, कहिलेकाहीँ खुब डाह लाग्छ साथीहरुलाई भेट्दा । उनीहरु अहिले पनि बासँग पैसा मागेर बजार जान्छन् । बजार त म पनि जान्छु, तर बासँग पैसा माग्न पाउँदिन । बालाई सताउन पाउँदिन । बासँग ठुस्सिन पाउँदिन । अँ साँच्ची, अस्ति साँइला काका वित्दा गरुडपुराण सुनेको थिएँ । स्वर्ग र नर्कको बयान खुब गरिएको रहेछ त्यसमा । अरुलाई ठग्ने, ढाँट्ने, चोर्ने र अरुको कुभलो गर्नेहरु मात्रै नर्क पर्छन् भनेपछि म ढुक्क भएँ । मेरा बाले मलाई त त्यस्तो नगर है भन्नुहुन्थ्यो, आफूले त पक्कै गर्नुभएन । तपाइँ त निशन्देह स्वर्गमा हुनुहुन्छ होला । मैले लेखेको पत्र स्वर्ग नै त नपुग्ला, तर सम्झना त पुग्छ । तपाइँ पनि सपनामा आएर मलाई प्रतिउत्तर दिनु है । 

अँ साँच्ची, अस्ती ठूल्दाजुसँग कुरा भएथ्यो, खै किन हो ? अचेल ठूल्दाइ पनि बा जस्तै हुनुभएको छ । हुन त ठूल्दाइ बा भएको पनि बा ले देख्न पाउनुभएन । तर साँच्चै, अहिले ठूल्दाई तपाइँ जस्तै बा बन्नुभएको छ । म पनि बा भएको छु बा । सन्तान नजन्माई पनि बा हुन मिल्ने रहेछ नि । त्यो कुरा तपाइँले नभनेपनि मैले थाहा पाइसकेँ । बा हुनु भनेको बच्चा जन्माउनु मात्रै होइन रहेछ । बा हुन त आफ्नाहरुको थाप्लोमा झर्न खोज्ने असिना आफूले छेक्नु पर्दोरहेछ । अरुले नदेखेका भविष्य आफूले देख्नु पर्दोरहेछ । घर चलाउनु पर्दोरहेछ, मन जलाउनु पर्दोरहेछ । अनि मन जलेर निस्किएको उज्यालोमा आफ्ना सन्ततीलाई पाइला चाल्न सिकाउनु पर्दोरहेछ । सबैका अगाडि हाँस्नुपर्ने, रुन एक्लै जानुपर्ने, सन्तानलाई सन्तोष मिल्छ भने आफुले हण्डर खानुपर्ने । कस्तो अचम्म रहेछ बा हुन, अनि कति गाह्रो पनि है ? 

संसारका बाहरुमा मैले खासै भेद देखिन । सबै बाहरुले सन्तानको लागि आफ्नो हरचिज दिन तयार हुँदा रहेछन् । मौरी जस्तै । कमायो, ल्यायो, जम्मा गर्यो अनि अरुलाई खुवायो । तर बा जस्तै छोराहरु चाहीँ सबै उस्तै हुन नसक्ने रहेछन्,  सन्तान थरीथरीका । अस्ती पुछारघरे बाका कान्छा छोराले आफू बा भएको दिनबाट नै बालाई बृद्धाश्रम पठाएछन् । भन्दै थिए रे, अब बाको धर्म गर्ने बेला पनि भयो । उतै मन्दिर पनि छ, बालाई त्यतै ठिक छ । अनि मैले सोधेँ, बाले त आजसम्म अधर्म कहिले गर्नुभयो र ? अनि तपाइँको धर्म गर्ने बेला कहिले ? तपाइँपनि अल्ली पछि वृद्धाश्रम गएर धर्म गर्ने हो ? अहिले नै बालाई घरमा राखेर सेवा गरे धर्म हुँदैन र ? उनी पनि बोलेनन्, मैले पनि बुझिन । यो कुरा कसले बुझाइदिने सन्तानहरुलाई ? 

ल त बा, लेख्दालेख्दै के के लेखियो लेखियो । कति लेखेँ ? कति अझै बाँकी छन् । बालाई सम्बोधन गरी लेख्न बस्दा त लेखिरहुँजस्तो लाग्दो रहेछ । तरपनि बाँकी अर्को पत्रमा..... । 

उहि तपाइँको छोरो

के.आर. ढकाल

पोखरा

बालाई चिठी कार्यक्रमको पुरा भिडियो हेर्नुहोस् :




1 comment