आन्दोलनको मैदानबाट विद्यार्थीलाई चिठी

के आर ढकाल
पोखरा



विद्यार्थीलाई चिठी 




 मिति : २०८० असोज ०३ (संविधान दिवस)

प्रिय विद्यार्थी !

आज हामी शिक्षकहरु वाध्य भएर आन्दोलनको मैदानमा छौँ । मैले कक्षामा पटक पटक भन्ने गरेको थिएँ नि, “द्वन्द्वको असर दुई प्रकारको हुन्छ । कि त द्वन्द्वले सकारात्मक परिवर्तन ल्याउँछ, कि त ध्वंस मात्र हुन्छ ।” हो, आज हामीहरु सकारात्मक परिवर्तन र अग्रगमनका लागि आन्दोलनमा छौँ । यो हाम्रा लागि मात्र गरिएको आन्दोलन होइन, यो तिमीहरु जस्ता साना विद्यार्थीहरुले भविष्यमा फेरि आन्दोलन गर्न नपरोस् भन्नको लागि गरिएको आन्दोलन हो । शिक्षा विषय लिएर कक्षा ९ देखि १२ सम्म पढ्दै गरेका मेरा प्रिय विद्यार्थी, के तिमीहरुलाई राज्यले हेपेर राखेको शिक्षक बन्न मन लाग्छ ? कि सम्मानित शिक्षक बन्न मन लाग्छ ? हो, हामीहरु त्यही तिम्रो सुन्दर भविष्यको लागि आन्दोलनमा छौँ । 

प्रिय विद्यार्थी, झट्ट हेर्दा तिमीलाई पनि लाग्न सक्छ, शिक्षकले कक्षामा आएर पढाइदिए हाम्रो पढाइमा घाटा पर्ने थिएन । एक हिसाबबाट तिम्रो तर्क बेठिक होइन, तर फेरि सम्झ त मैले पढाएको कुरा । “शिक्षण त कला र विज्ञानको समिश्रण हो ।” मनभरि पीडा, मस्तिष्कभरि तनाब लिएर कक्षामा आएको शिक्षकले पढाएर तिमी सन्तुष्ट हुन सकौला ? पक्कै सक्दैनौ । त्यसैले शिक्षकमाथि राज्यले गरेको यो विभेद हट्नु जरुरी छ । 

“मैले कक्षामा भन्थेँ नि, “जे बोलिन्छ त्यो गर्नुपर्छ । जे गर्नै सकिँदैन, त्यो गर्छु भन्न हुँदैन” भनेर । हो नेपाल सरकारले त्यही कुरा बुझेन । २०७५ फागुन ९ गते ३० वटा र २०७८ फागुन ९ गते ५१ वटा बुँदामा नेपाल शिक्षक महासङ्घसँग विभिन्न विषयमा सहमति गर्यो तर अहिले त्यो पूरा नगरी शिक्षा विधेयक संसदमा पठाएको छ ।”

साँच्चै, “शिक्षकले किन आन्दोलन गरेका ?” यो प्रश्न धेरै जनाले सोध्ने प्रश्न हो । यसको उत्तर सहज छ, सरकारले गरेको झुटको खेती सहन नसकेर, धोका सहन नसकेर । मैले कक्षामा भन्थेँ नि, “जे बोलिन्छ त्यो गर्नुपर्छ । जे गर्नै सकिँदैन, त्यो गर्छु भन्न हुँदैन” भनेर । हो नेपाल सरकारले त्यही कुरा बुझेन । २०७५ फागुन ९ गते ३० वटा र २०७८ फागुन ९ गते ५१ वटा बुँदामा नेपाल शिक्षक महासङ्घसँग विभिन्न विषयमा सहमति गर्यो तर अहिले त्यो पूरा नगरी शिक्षा विधेयक संसदमा पठाएको छ । तिमीलाई ९–१० कक्षामा विज्ञान पढाउने शिक्षक हुनुहुन्थ्यो नि, तिमीहरुको व्याचमा १०० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल, तिम्रो Best Teacher । हो त्यो सर राहत दरबन्दीमा भएकाले अब पढाउन अयोग्य रे । अनि हाम्रो स्कुलको इसिडी टिचर हुनुहुन्छ नि ? फूलैफूलले कक्षा सजाउने, कहिले आफै नाचेर देखाउने, कहिले तिमीहरुलाई नचाउने । तिमीहरु सानो हुँदा कट्टुमा गरेको आची धोएर पनि नघिनाउने । एकदिन मिस स्कुल नआउँदा “फोन गरेर मेरो मिसलाई बोलाइदिनु” भनेर म भएको ठाउँमा रुँदै आएका थियौ नि ? हो, उहाँलाई त सामान्य शिक्षक पनि नमान्ने रे यो सरकारले । तलब कति दिने रे थाहा छ ? मकै गोड्ने खेतालाको भन्दा पनि कम । अनि तिमीले स्कुलमा टाइ बेल्ट माग्ने, हरेक गुनासो राख्ने अनि घरिघरि त कम्प्युटरको विषय पढाउन कक्षामा पनि जाने विद्यालय कर्मचारी सर हुनुहुन्छ नि ? अकाउन्टेन्ट सर क्या, हो उहाँलाई पनि हेलाँ गरेका छन् इसिडीको टिचरलाई जस्तै । 

अर्को कुरा पनि सुन न । मैले तिमीलाई कुनै एउटा प्रतियोगितामा प्रथम भयौ भने १००० रुपैयाँ दिन्छु भनेँ, अनि तिमी प्रथम पनि भयौ तर पछि मैले मसँग पैसा रहेनछ लौ यो ५० रुपैयाँ भनेँ भने तिमीलाई कस्तो हुन्छ ? रिस उठ्छ नि है ? हो हामीलाई पनि त्यस्तै गर्यो के यो सरकारले । जागिर खाने बेलामा साना बाबुनानीलाई २० वर्ष पढाइदेऊ, म तिमीलाई जीवनभर पेन्सन दिन्छु भनेर हामीले जागिर खान गयौँ । अहिले त दिन्नँ, म त सक्दिनँ भन्छ । अनि आन्दोलन नगर्ने त ? अर्को कुरा पनि सुन्छौ ? तिमीलाई पनि रिस उठ्छ यो कुरा सुन्दा त । हाम्रो स्कुलको प्रधानाध्यापक हुनुहुन्छ नि ? कति धेरै समय विद्यालयका काममा खट्नुहुन्छ है ? उहाँलाई त्यत्रो काम गरेबापत सरकारले कति रकम थपिदिएको छ ? थाहा छ ? दिनको १६ रुपैयाँ । 

अब आउँदै गरेको शिक्षा ऐनले के भनेको छ थाहा छ ? तिमीहरुले गणित र विज्ञान जसरी पनि अङ्ग्रेजीमै पढ्न पर्ने रे । त्यति भन्दिएपछि विद्यार्थीले सरकारी स्कुल छोडेर बोर्डिङतिर जान्छन् भन्ने होला यो सरकारको दिमागमा । हुन त हामीले अहिले पनि अङ्ग्रेजीमा पढ्न सुरु गरिसकेका छौँ, तर सोच त एकफेर । ती देशका दुर्गम भेगहरु, जहाँ महिनौं सम्म शिक्षक नपाएर अरु विषयका शिक्षकले कक्षा धान्नुपरेको छ, त्यहाँको हालत के होला ? पत्रदल, पुष्पदल, पुंकेशर र स्त्रीकेशर भनेर फुलका भागहरु पढिरहेर के चाहिँ बिग्रेको छ र त्यसलाई अङ्ग्रेजीमा पढाउन पर्यो ? तिमीले अब बाध्य भएर देश छोडेर, तिम्रा बा आमा छोडेर विदेसिनुपर्ने नीति आउँदै छ । मैले १९ वर्षको हुँदाबाट पढाउन थालेको हुँ । तिमीलाई त २१ वर्ष नपुगी अध्यापन अनुमति पत्र पनि लिन नदिने रे । अनि त्यसको नतिजा आएर आयोग खुल्दा र आयोग पास गर्दा एकदम छिटो गरे पनि तिमी २५–२६ वर्षको त भइहाल्छौ । अझ एकैपटकमा नाम निस्किएन भने त्यसपछि तिमीले धेरै वर्ष शिक्षक सेवा आयोगको परीक्षामा लड्न पाउँदैनौ । ३५ वर्ष पुग्यौ भने तिमीले त्यो परीक्षा नै दिन पाउँदैनौ । अब भन त, त्यो १० वर्षमा सबै कुरा मिलाएर तिमी फ्याट्ट शिक्षक बनिहाल्छौ त ? अनि जानु परेन त खाडीका देशमा गैची बेल्चा चलाउन ? हो, त्यसकै विरोधमा हो यो आन्दोलन ।

अझ कति झुक्याएको छ यो सरकारले प्रत्येक प्रदेशमा माध्यमिक तहका २ जना विशिष्ट श्रेणीको शिक्षक हुने भनेर । तर त्यो २ जना विशिष्ट श्रेणीमा प्रायः कहिल्यै कोही मान्छे पुग्नै नसक्ने प्रावधान राखेको छ । अरु सबै श्रेणीमा ४–५ वर्ष सेवा गरेपछि माथिल्लो श्रेणीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुँदा त्यो विशिष्ट श्रेणीमा पुग्न चाहिँ प्रथम श्रेणी पुगेपछि नै १५ वर्ष पढाउन पर्ने रे । तिमीहरुले अस्ति सामाजिक शिक्षाको परियोजनामा म शिक्षा विषय लिएर धेरै प्रतिशत अङ्क सहित उत्तिर्ण हुन्छु र शिक्षक बन्छु भन्थ्यौ नि, तिमीले यो विधेयक हेर्यौ भने म मरे पनि शिक्षक बन्दिनँ भन्छौ । हो त्यसैको विरोध गर्न हामी आन्दोलनमा आएका हौँ । 

अझ अर्को कुरा के भने नि, शिक्षक भएपछि त चित्त नबुझेको कुरा पनि भन्न नपाउने रे । ट्रेड युनियन अधिकारलाई पनि प्रयोग गर्न नपाउने रे । शिक्षकलाई कमजोर देखाउनकै लागि शिक्षकले बहुविबाह गर्न हुँदैन, यौन दुर्व्यवहार गर्न हुँदैन जस्ता कुरा पनि लेखिएको छ । तिमी नै भन त, शिक्षकले मात्रै गर्न हुँदैन कि कसैले पनि हुँदैन ? यस्तो कुरा त कसैले पनि गर्न हुँदैन भनेर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा नै लेखेको छ नि, अनि यता किन दोहोर्याउनु ? कि त मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा शिक्षकलाई छुट भनेर लेखेको भए त लौ उता छुटेछ यता लेखौँ भन्नु, त्यो पनि छैन । यो त सरासर शिक्षकलाई हेपेको होइन त ? 

ल ! अझै सुन, निजामति सेवामा १० कक्षा पास गरेको खरिदारले खाएजति तलब खान शिक्षक सेवामा व्याचलर पास गर्न पर्ने रे । सुन्दा पनि दिक्क लागेन तिमीलाई ? अर्को ग्रेड भन्ने हुन्छ के, एक वर्ष काम गरेपछि प्रत्येक महिनामा १ दिनको तलब थप आउँछ । त्यस्तो ग्रेड केही वर्षसम्म पाइन्छ । तर त्यो पनि निजामति सेवातिर अल्ली धेरै लिन पाउने रे, शिक्षकलाई चाहिँ थोरै दिने रे । उता १० ग्रेड खान पाउँदा यता त जम्मा ६ ग्रेड दिने रे । 

के तिमी आफ्नै शिक्षकलाई राज्यले अपमान गरेको हेर्न सक्छौ त ? सक्दैनौ नि । यस्तै अवस्था रह्यो भने त भोलि शिक्षक नपाएर विद्यालय बन्द हुनुपर्ने अवस्था आउँछ । तिम्रा भाइबहिनीहरु महिनैपिच्छे हजारौँ खर्च गरेर बोर्डिङ जान पनि सक्दैनन्, सरकारी स्कुल झन ध्वस्त हुन्छन् । आफैँभित्र हारेको शिक्षकले के पढाउँछ ? कक्षामा ४५ मिनेट बस्दैमा सबै जानिने हो र ? के तिमीभित्र भएको क्षमता उजागर गरेर तिमीलाई सक्षम नागरिक बनाउन शिक्षक उत्साहित हुनु पर्दैन र ? हो त्यसकै लागि गरिएको आन्दोलन हो यो । 

ढुक्क हुनु, अहिले जति दिन तिमीहरुको पढाइमा असर पर्छ नि, हो त्यति दिन हामी पछि विदाको दिनमा पनि पढाउँछौँ । तिमीहरुको शैक्षिक भविष्य उज्ज्वल बनाउने जिम्मा हाम्रो हो भन्ने हामीलाई एकदम थाहा छ । तिमी फेल भयौ भने हामी पनि फेल हुन्छौँ । त्यसैले पनि हामी तिम्रो पढाइप्रति जिम्मेवार छौँ । अहिले चाहिँ घरमा बसेर स्वअध्ययन गर्दै गर ल । अरुसँग भर नपरी आफैँले पढ्दा पनि धेरै कुरा जानिन्छ । नजानेको कुरामा चाहिँ स्कुल खुलेपछि कक्षामा छलफल गरौँला है । 

आजलाई यत्ति । 

उही तिमीलाई माया गर्ने शिक्षक

के आर ढकाल


Post a Comment