के.आर. ढकाल शुक्लागण्की-१, तनहुँ । |
लघुकथा : "आस"
"कुन दिन दशा लागेर तँ जस्ती पाखेलाई स्वास्नी बनाउन पुगेछु भनेनी…" सौरभ भुतभुतायो ।
सरिता अघिसम्म चर्कै बोलेकी थिई, अबभने सुकसुकाउँदै बोल्न थाली, "लोग्नेमान्छे न परे, म बिहे गरेर ल्याएकी भएर पाखे भएँ, त्यै पाखाकी अरु त राजकुमारी देख्छन् ।"
आजपनि बेलुकाभरी झगडा नै सुनियो । सरिताले भातै पकाईन, दिदीको घरमा आएकी बिमला पनि आज दिदी भिनाजुको झगडाको चेपुवामा भोकै सुति ।
"ए सरिता नानी ! सौरभ बाबू र बिमला नानी त खुब मस्किँदै रेस्टुरेन्टमा पिजा खाँदै गरेको देखेकी थिएँ नि आज दिउँसो, सम्झाउ है बहिनीलाई। यी लोग्नेमान्छेको त भर पर्नै हुन्न, राम्री केटी देख्यो कि मन बङ्ग्याईहाल्छन् ।"अमला काकीको यै कुराले मन भारी भएको बेलामा साँझ एउटै मोटरसाइकलमा साली भेना मस्किँदै आएको सरिता आँफैले देखेकी हो । अझ घर भित्र पस्ने बेलामा दिउँसोको बियरले बिमला धङधङाउँदा सौरभले चपक्कै अंगालोमा बेरेर खाटमा पुर्याउँदा त सरिताको मुटुमै किलो ठोकिएको थियो ।
१० जति बजेको हुँदो हो, सरिताले भित्रबाट चुक्कुल लगाएर सुत्ने तरखर गरि, सौरभले टिभी अगाडि बसेर फेरि एउटा बोत्तल रित्यायो । करिब एक घण्टा पछि सुत्न भनी धङधङाउँदै सरिताले लगाएको ढोका हिर्काउन पुगेको सौरभलाई बाथरुम गएर फर्केकी बिमलाले देखी । रक्सीको नसामा आफ्नो नियन्त्रण गुमाएका भिनाजुलाई बिमलाले आफ्नो साहरा दिई । ठिक त्यही बेला सरिताले ढोका खोलीन्, साली भेना अंगालोमा भएको देखिछन् तुरुन्तै ढोका बन्द गरिन् । त्यसपछि जति बोलाउँदा पनि न सरिता बोलीन् न ढोका खोलीन् ।
भोलिपल्ट बिहान ८ बज्दा पनि सरिताले ढोका नखोलेपछि ढोका फोरियो । बिमला झस्किईन, दिदी त पंखाको हुकमा झुण्डीरहेकी थिईन । गाउँले बोलाईयो, सबै रुन कराउन थाले । सबैभन्दा धेरै चर्को डाँको बिमलाको थियो । दिदी गुमाउनुको पीडा उनलाई जति अरु कसलाई होस् ? अमला अन्टीले बिमलालाई बल्लतल्ल भित्र लगेर दराज अगाडीको सोफामा राखिन ।
"नरोउ नानी, एक दिन सबैले संसार छाड्नै पर्छ, ढिलोचाँडो मात्रै हो । कस्तो बुद्धि लगेर सरिता नानीले यस्तो गरिन कुन्नि ? नपुग्ने केही थिएन, आ-आफ्नो कर्म ।"
केहीबेर सम्झाएपछि बिमला अल्ली थामिएकी थिई । अमला अन्टी बाथरुम जान निस्कीईन् ।
बिमलाले एकपटक आफ्नै अगाडिको दराजको ऐनामा आँफुलाई हेरि, बिस्तारै टाउकोमा हात लगि, खाली सिउँदो छोएझैँ गरि र मुसुक्क मुस्कुराई ।
Post a Comment