- के आर ढकाल पोखरा |
श्रद्धाञ्जली
(अनुष्टुव छन्द)
तातेको बालुवा माथि, पाइला चाल लौ भने,म सक्थेँ उम्लिँदो तेल, मुखैमा हाल लौ भने !म आगो निल्न तम्सन्थेँ, आँधि रोकेर हिँड्दथेँ,म शैल हातमा बोकि, समुन्द्र पार तर्दथेँ !हो ! अट्टहास गर्थेँ म, काखैमा नाच्न थाल्दथेँ,यो धर्ती स्वर्ग झैं लाग्थ्यो, जब म बासँगै थिएँ !छातीमा शूल रोपेर, दैवले नुन छर्कियो,म बस्ने घरको छानो, लौ खस्यो ! लौ न भत्कियो !अमृत जल बग्ने ती, सरिता बग्न छाड्दिइन्,चाँदनी हाँस्न छाडेर, कालो पोतेर बस्दिइन् !समुन्द्र जम्न थाल्दैछन्, हावाले बग्न छाड्दिए,जब यो नभ सारामा, सूर्य चम्किन रोक्किए !वृक्षले फल्न छाडेर, सिख्रिँदै सिख्रिँदै गए,फूलले वासना रोके, पक्षी नगाउने भए !मेघले गर्जिनै बिर्से, आकाशै ढाकिए पनि,वर्षा नबर्सिने भन्छिन्, पर्वतै पल्टिए पछि !कविले लेख्न सक्दैनन्, स्वयम् ती शोकमग्न छन् !सप्तक राग बिर्सेर, शोकधुन बजाउँछन् !न रङ्गमञ्चमा कोही, न रङ्ग क्यानभासमा,के उत्पात भयो लौ न! सम्पूर्ण छन् तलासमा !पल्टियो बरको वृक्ष, चौतारी भत्किँदै गयो,नहुँदा लोकमा ज्योति, समय शून्य भै रह्योनसुत चिर निद्रामा, कि तिमी फर्क बा घर !लैजाऊ कि तिमीसँगै, म यहाँ बस्नु के छ र?यो देह जड जानेर, वैकुण्ठ लोकमा गयौ,तिमीले मुक्तिको मार्ग, आफ्नो गन्तव्य सम्झियौ,आउँछु म तिमी सँगै, होला क्यै क्षण अन्तर !चिर शान्ति मिलोस् बाबा, श्रद्धाञ्जली निरन्तर !
Post a Comment