श्रद्धाञ्जली

 


- के आर ढकाल 
पोखरा

श्रद्धाञ्जली

(अनुष्टुव छन्द)

तातेको बालुवा माथि, पाइला चाल लौ भने,
म सक्थेँ उम्लिँदो तेल, मुखैमा हाल लौ भने !
म आगो निल्न तम्सन्थेँ, आँधि रोकेर हिँड्दथेँ,
म शैल हातमा बोकि, समुन्द्र पार तर्दथेँ !

हो ! अट्टहास गर्थेँ म, काखैमा नाच्न थाल्दथेँ,
यो धर्ती स्वर्ग झैं लाग्थ्यो, जब म बासँगै थिएँ !
छातीमा शूल रोपेर, दैवले नुन छर्कियो,
म बस्ने घरको छानो, लौ खस्यो ! लौ न भत्कियो !

अमृत जल बग्ने ती, सरिता बग्न छाड्दिइन्,
चाँदनी हाँस्न छाडेर, कालो पोतेर बस्दिइन् !
समुन्द्र जम्न थाल्दैछन्, हावाले बग्न छाड्दिए,
जब यो नभ सारामा, सूर्य चम्किन रोक्किए !

वृक्षले फल्न छाडेर, सिख्रिँदै सिख्रिँदै गए,
फूलले वासना रोके, पक्षी नगाउने भए !
मेघले गर्जिनै बिर्से, आकाशै ढाकिए पनि,
वर्षा नबर्सिने भन्छिन्, पर्वतै पल्टिए पछि !

कविले लेख्न सक्दैनन्, स्वयम् ती शोकमग्न छन् !
सप्तक राग बिर्सेर, शोकधुन बजाउँछन् !
न रङ्गमञ्चमा कोही, न रङ्ग क्यानभासमा,
के उत्पात भयो लौ न! सम्पूर्ण छन् तलासमा !

पल्टियो बरको वृक्ष, चौतारी भत्किँदै गयो,
नहुँदा लोकमा ज्योति, समय शून्य भै रह्यो
नसुत चिर निद्रामा, कि तिमी फर्क बा घर !
लैजाऊ कि तिमीसँगै, म यहाँ बस्नु के छ र?

यो देह जड जानेर, वैकुण्ठ लोकमा गयौ,
तिमीले मुक्तिको मार्ग, आफ्नो गन्तव्य सम्झियौ,
आउँछु म तिमी सँगै, होला क्यै क्षण अन्तर !
चिर शान्ति मिलोस् बाबा, श्रद्धाञ्जली निरन्तर !

Post a Comment