तेस्रो अन्तरविद्यालय रङ्गोली प्रतियोगिता हुने

 तेस्रो अन्तरविद्यालय रङ्गोली प्रतियोगिता हुने 


०४ मंसिर, अन्नपूर्ण । 

के.आर. ढकाल


अन्नपूर्ण ९, तिखेढुङ्गा कास्कीमा रहेको श्री भगवती माध्यमिक विद्यालयको आयोजनामा विगतका वर्षमा जस्तै यसवर्ष पनि "तेस्रो अन्तर विद्यालय रङ्गोली प्रतियोगिता" हुने भएको छ । दक्षिण कोरियाली कला शिक्षक Ku Hyun Kim को परिकल्पना, आर्टफिल्ड ग्यालरी दक्षिण कोरियाको प्रायोजन, अन्नपूर्ण ड्रइङ ड्रिम टिम (ADDT) को सहकार्य तथा परिचय डट कमको प्रवर्धनमा सो प्रतियोगिता हुन लागेको हो । यही मंसिर ०५ गते हुने उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतमा रहेका विभिन्न विद्यालयबाट १२ टिमको सहभागिता हुने कार्यक्रमका संयोजक खेम बहादुर पुनले बताए । उनले भने , "५ गते दिनको १ बजेबाट रङ्गोली निर्माण सुरु भई साँझ ५ बजे दिप प्रज्वलन गरिनेछ । हामीले प्रत्येक सहभागी टिमलाई १२ वटा परम्परागत माटोको दीयो र १२ वटा आधुनिक इलेक्ट्रीक दियो प्रदान गर्नेछौँ । साँझमा दीयो सहितको रङ्गोलीको मुल्याङ्कन हुनेछ र पुरस्कार वितरण गरिनेछ । सहभागीहरुलाई राती घर फर्किन असहज नहोस् भनेर उक्त राती सहभागी समुहका ५ विद्यार्थी र १ शिक्षकलाई समेत आवासीय सुविधा समेत उपलब्ध गराइएको छ ।"


'तिहारको लक्ष्मीपूजाको दिनमा लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोलीको विशेष गरी नेपालीहरुको मौलिक मण्डेला निर्माण कलासँग नजिकको सम्बन्ध रहने भएकाले यस कलाको प्रवर्धन गर्न विगतका वर्षबाट नै रङ्गोली निर्माण प्रतियोगिता गर्नका लागि आफूले आह्वान गरेको' कोरियाली कला शिक्षक Ku Hyun Kim ले बताए । लामो समयदेखि विश्वका विभिन्न मुलुकमा पुगी त्यस मुलुकको संस्कृति र कलाको अध्ययन गरिरहेका उनले कास्कीको अन्नपूर्ण गाउँपालिकका विभिन्न विद्यालयमा विगत एक दशक देखि निरन्तर रुपमा चित्रकलाको शिक्षण, विद्यार्थी र विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आर्थिक तथा भौतिक सहयोगका गरिरहेका छन् । अन्नपूर्ण ड्रइङ ड्रिम टिम (ADDT) नामक संस्था मार्फत उनले यस क्षेत्रका विद्यार्थीहरुलाई चित्रकला सिकाउने र उनीहरुबाट निर्मित चित्रहरुको नेपाल र कोरियामा प्रदर्शनी आयोजना गर्ने समेत गरिरहेका छन् । विद्यार्थीका अन्तरनिहीत प्रतिभा प्रस्फुटन र मौलिक कला संस्कृतिको संरक्षणमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान दिने भन्दै यस प्रतियोगिताको परिकल्पना गर्ने कला शिक्षक Ku Hyun Kim को नेपाली कला प्रतिको प्रेमलाई हामीले विर्सिन नहुने कुरा विद्यालयका शैक्षिक विभाग प्रमुख किर्तीराज ढकालले बताए । 



यसवर्षको रङ्गोली प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रङ व्यवस्थापन गर्न प्रति समूह रु २,०००/- प्रदान गरिने र प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः १५,०००/-, १३,०००/- र ११,०००/- रुपैयाँका साथ प्रमाणपत्र प्रदान गरिनेछ । आयोजक विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले कार्यक्रमको अन्तिम तयारी पूरा गरिसकिएको र सहभागि विद्यालयका विद्यार्थीहरुको प्रतिक्षामा बसेको बताइन् । 

2 comments

  1. Replies
    1. धन्यवाद, यहाँहरुको सहयोग रहिरहोस |

      Delete