'एक्स'

के आर ढकाल
पोखरा

लघुकथा : 'एक्स'

साधारणतया औसत भन्दा धेरै नै समय फेसबुकमा झुन्डिएको थिएँ । कुनै ग्रुपकी एक अपरिचित केटीले स्टाटस हालेकी रहिछन् "यो ग्रुपबाट एउटा दाइ बनाउने बिचारमा छु।"

खासै यी र यस्ता कुरामा विस्वास नै लाग्थेन । तर पनि सामाजिक सञ्जाल बाट नै दाइ बनाउन दर्खास्त आह्वान भएकोमा नौलो लाग्यो । म घरको कान्छो, घरको मात्रै होइन लगभग मेरो पुस्ताको नै कान्छो थिएँ । मलाई दाइ, दिदी, भतिजा, भतिजीको नातो त्यति दुर्लभ थिएन तर मेरा भाइ बहिनी भने शुन्य । मैले पनि दर्खास्त पेस गरेँ, कमेन्टमा ।


फ्रेन्ड रिक्वेस्ट उतैबाट आयो । खुसीको सिमा थिएन । पहिलो म्यासेज "हेल्लो" पठाएँ । "उनी"ले मलाई दाइ भन्दै बोल्न थालिन्, हामी बिच धेरै नजिकका गफ भए । मैले मेरो जिन्दगीका पिडाहरु सुनाउँदा उनी दुखि ईमोजी पठाउँथिन् । उनले रमाईला गफ गर्दा मैले हाँसेको ईमोजी पठाउँथेँ । मेरा बहिनी थिएनन् त्यसैले उनलाई आत्मैदेखि बहिनी मानेँ र मैले पनि सच्चा दाजुको भुमिका निभाउने प्रयास गरेँ । प्राय: सामाजिक र हेल्प पोस्ट देख्थेँ उनको वालमा र लाग्थ्यो आहा, कति सुन्दर बिचार भएकी बहिनी पाएँ मैले ।

१५-२० दिन पछि उनको वालमा हेरेँ, एउटा फोटो ट्याग भएको रहेछ । पल्सर 220 मा बसेकी उनी अनि उनलाई अँगालो हालेको एक युवक । करिब करिब उनको गालामा युवकको मुख जोडिने लागेको

उनी अनलाइन नै थिईन्।

हत्तपत्त म्यासेज गरेँ "वालमा जेपिटी फोटो ट्याग छ"।

उनले हाँसेको ईमोजी पठाउँदै भनिन्, "देखेकी छु।"

मैले फेरि रिप्लाई गरेँ, "मलाई त राम्रो लागेन ।"

उनले भनिन् "तपाईंलाई के चासो?"

मैले अधिकार जमाएँ, "म तिम्रो दाइ हुँ"

उनले रिप्लाई गरिन्, "हा हा हा, लुते ब्रो, केटीले ग्रीन सिग्नल दे'को नि थाहा नपाउने । अब त मेरो दाइ उही हो, तिमी त 'एक्स ब्रो' भयौ ......"

Post a Comment