विद्यार्थीलाई स्टेशनरी सहयोग सहित नगद पुरस्कार

 विद्यार्थीलाई स्टेशनरी सहयोग सहित नगद पुरस्कार


के.आर. ढकाल

०३ पुस, अन्नपूर्ण ।


अन्नपूर्ण गाउँपालिका वडा नं. ९ तिखेढुङ्गामा रहेको श्री भगवती माध्यमिक विद्यालयमा मंगलबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रष्टबाट विद्यार्थी तथा शिक्षकहरुलाई स्टेशनरी एवम् शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ । 


कार्यक्रममा ट्रष्टका संस्थापक राम बहादुर गुरुङ तथा मधु गुरुङले ग्रामिण भेगमा रहेको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धी सुधारका लागि आफूहरुले वि.सं. २०७२ देखि वार्षिक रुपमा निरन्तर सहयोग तथा पुरस्कार प्रदान गर्दै आएको बताए । विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये प्रत्येक कक्षाबाट बि ग्रेड वा सो भन्दा माथिल्लो ग्रेड ल्याई उत्कृष्ट हुने तिनजना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयमा अध्ययनरत करिब १५० विद्यार्थी तथा कार्यरत १५ शिक्षकहरुलाई समेत स्टेशनरी सहयोग गरिएको थियो । 

वार्षिक मुल्याङ्कनका अतिरिक्त प्राथमिक तह तर्फ शैक्षिक सत्र २०७९ मा विद्यालयमा अधिक उपस्थिति भएकी कक्षा ४ की सोनी गुरुङ, उत्कृष्ट गृहकार्य गर्ने कक्षा २ का सौगात वि.क. र प्राथमिक तह तर्फ सर्वोकृष्ट विद्यार्थी अंकिता गुरुङलाई प्रमाणपत्र र नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा स्व. कमसार्की गुरुङ तथा स्व. सुनकुमारी गुरुङका साहिँला छोरा कुम बहादुर गुरुङले ग्रामिण भेगका विद्यार्थीहरुले पढ्ने चाहना हुँदा हुँदै पनि विभिन्न समस्याले पढ्न नपाएको अवस्थाप्रति चिन्तित हुँदै भगवती मा.वि.मा कक्षा १२ सम्मको पढाइ सुरु भएकोप्रति हर्ष व्यक्त गरे । उनले भने, “विद्यार्थीले आफूले चाहेको विषय आफ्नै घरमा बसेर पढ्न पाउने वातावरण हुनुपर्छ । यसका लागि शिक्षाप्रेमी, समाजसेवी र सरकार एक भएर लागि पर्नुपर्छ ।”

आगामी वर्ष ट्रष्टले आफ्नो स्थापनाको दशौँ वर्ष मनाउन लागेको बताउँदै ट्रष्टका अध्यक्षले सन् २०२४ अक्टोबर १९ मा विशेष समारोहको आयोजना गर्ने बताउँदै विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक उपलब्धी प्राप्त गरी पुरस्कृत हुन र अभिभावकको लगानीलाई सम्मान गर्न अनुरोध गरे । उनले भने, “मैले यो लगानी नितान्त मेरो खातामा भएको रकमबाट मेरा स्वर्गीय बुबा आमाको सम्मानमा गरेको हुँ । तपाईं अभिभावकले तपाईँहरुको उत्कृष्ट शिक्षाको लागि निरन्तर लगानी गरिरहनुभएको छ । मलाई आशा छ, तपाईँ विद्यार्थीहरुले हाम्रो लगानीको कदर गर्दै आफ्नो भविष्य सुन्दर बनाउन लागिपर्नुहुनेछ ।”

ट्रष्टका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी गुरुङको स्वागत मन्तव्यमा भएको उक्त कार्यक्रम विद्यालयका शिक्षक खेम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 


Post a Comment