एसईई परीक्षाको नतिजा किन विशेष ? किन सामान्य ?


 आज एसईई परीक्षाको नतिजा आउने सम्भावना छ ।

यो नतिजा किन विशेष मानियो ? तर किन सामान्य हो ? 

विश्वविद्यालयका ग्रेडसिटमा A+ ल्याएर जिवनमा फेल भएका र ग्रेडसिटमा NG ल्याएर जिवनमा A+ ग्रेडमा बाँचेका मान्छेहरु पनि छन् ।

१. पहिला पहिला एसएलसी परीक्षा १० मा हुन्थ्यो, त्यसपछि विद्यालय शिक्षा समाप्त हुन्थ्यो र विश्वविद्यालयको शिक्षा आरम्भ हुन्थ्यो त्यसैले यसलाई विशेष मानियो । तर अहिले कक्षा १२ सम्मको शिक्षा नै विद्यालय शिक्षा हो, त्यसैले यो नतिजा सामान्य प्रक्रिया मात्र हो ।

२. सामान्यतया कक्षा ८ बाहेक अरु कक्षाका प्रश्नपत्र विद्यालयकै शिक्षकले निकाल्ने र कापी विद्यालयकै शिक्षकले जाँच्ने गरेकोमा यो परीक्षाको प्रश्नपत्र केन्द्रले निकाल्ने र कापी अरु नै शिक्षकले जाँच्ने भएकाले यसलाई विशेष मानिएको होला, तर जहाँका शिक्षकले प्रश्न निकालेपनि वा कापी जाँचेपनि उनीहरु आफ्नै विद्यालयका शिक्षक जस्तै हुन्, कक्षाकोठा र विद्यार्थी बुझेकै मान्छे हुन्, त्यसैले यो सामान्य हो । 

३. पहिले पहिले कक्षा १० पछि हुने एसएलसीमा कुन डिभिजन ? कति प्रतिशत ? को बोर्डफस्ट ? भन्ने हंगामा मच्चिन्थ्यो । यसलाई प्रतिष्ठाको रुपमा लिइन्थ्यो । त्यसैले यो विशेष मानिएको होला, तर अहिले न डिभिजन, न प्रतिशत, न तुलना, न बोर्डफस्ट... केही पनि छैन । मात्रै कुन विषयमा विद्यार्थीको बढी क्षमता रहेछ ? भन्ने पत्ता लाग्ने गरी ग्रेड बनाइएको छ । त्यसैले यो सामान्य हो । 

४. कुनै कुनै विद्यालयले यो नतिजालाई मागिखाने भाँडो बनाएका छन्, त्यसैले उनीहरु यसलाई विशेष बनाउन खोज्छन्, तर उनीहरुको विद्यालयबाट एसईई परीक्षामा उच्च ग्रेड ल्याएका सबै विद्यार्थीले सफल जिवन जिएका छन् त ? छैनन् । त्यसैले यो सामान्य प्रक्रिया मात्र हो । 

५. अरु कक्षामा पढ्नै नपर्ने (आफै पास हुने) तर १० कक्षामा होस्टेल बसेर पढ्नुपर्ने नियम बनाएर शिक्षकहरुले ट्युसन र कोचिङ पढाइरहन्छन्, त्यसैले उनीहरु अझैपनि एसईईलाई विशेष बनाउन चाहन्छन्, तर सबै कक्षामा सिक्नुपर्ने सक्षमताहरु पूरा गर्न सबैजना लागि पर्नुपर्छ, कक्षा १० मा जस्तै कक्षा १ मा पनि निर्धारित उपलब्धी पुरा गनैपर्छ त्यसैले यो सामान्य परीक्षा मात्र हो । 

६. विद्यालय वा विश्वविद्यालयको ग्रेडसिटका आधारमा हुने प्रतिस्पर्धाहरु (विशेष गरी जागिर खाँदा)मा उच्च ग्रेडले बढी अंक पाउने सम्भावना पनि हुने हुँदा त्यसको लागि यो महत्वपूर्ण छ तर परीक्षामा उत्कृष्ट ग्रेडसिट प्राप्त गर्दैमा जिवनमा सफल भइन्छ भन्ने छैन, विश्वविद्यालयका ग्रेडसिटमा ए प्लस ल्याएर जिवनमा फेल भएका र ग्रेडसिटमा फेल भएर जिवनमा ए प्लस ग्रेडमा बाँचेका मान्छेहरु पनि छन्, त्यसैले यो परीक्षा एउटा सामान्य परीक्षा मात्रै हो । 


त्यसैले विद्यार्थी भाइबहिनीहरु, 

तपाईँहरुले एक तहको मिहिनेत गरेर परीक्षा दिनुभएको छ । आस गरौँ तपाईँको सोचाइ अनुरुपकै नतिजा आउला । यदि आएनछ भने पनि नआत्तिनुहोस् । २ विषय सम्म NG आएमा तुरुन्तै परीक्षा दिई अगाडि बढ्न सक्नुहुन्छ । सो भन्दा बढी विषयमा NG आएमा पनि सोही विषयको मात्रै परीक्षा दिन पाउनुहुन्छ । यदि तपाईँले सोचेको भन्दा एकदमै फरक नतिजा आयो भने पनि पुनः परिक्षण सम्मका उपाय छन् । अझ मानौँ, तपाईको ग्रेडसिट एकदमै कमजोर नै आएछ रे ल, सबै विषयमा NG आएछ रे, के हुन्छ ? तपाईँको जिन्दगीमा सफलता निर्धारण गर्ने यत्ति ७ वटा विषय हुन् ? होइनन् । जिवनमा हजारौँ परीक्षा दिनुपर्छ, हजारथरी विषयका । यी ७ विषय त केवल औपचारिकता हुन्, जिवनमा पास हुनैपर्ने विषय अरु नै केही छन् । ती विषयको खोजी गर्नुहोस् र सफल बन्नुहोस् । 


तपाईँलाई हार्दिक शुभकामना । 


नतिजा प्रकाशन भएपछि नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Post a Comment