"ग्रेडसिट"



ओ मास्टर साहेब,
तिमीलाई ब्याचरलमा ब्याक लागेको कुरा
कति पछि तिम्रै घरकाले थाहा पाए ?
कहिल्यै समाजका अर्काले थाहा पाए ?
सुटुक्क मार्कसिट सिरानीमुनी लुकाएर
आफ्नै जन्मदाता बाआमालाई झुक्याएर
किताब किन्नुछ भनी मागेको पैसाले
व्याकपेपरको फारम भरेको विर्सियौ ?
पहिलो वर्षको विषय
अन्तिमवर्ष सम्म पनि नकटेर
दिक्षान्तको वर्ष नै सरेको विर्सियौ ?
त्यतिबेला तिम्रो मार्कसिट खिचेर फेसबुकमा किन हालेनौ ?
त्यतिवेला आफ्नै रिजल्ट आफ्नै बा आमालाई किन भनेनौ ?
साथीले रिजल्ट सोध्दा फेल भइयो यार भन्नेले
आमाले रिजल्ट सोध्दा अहिले हतारमा छु भनेको हैन ?
क्याम्पस जाँदा बाघ बनेपनि घर पुग्दा मुसा बनेको हैन ?
तिम्रा प्रोफेसरले तिम्रो मार्कसिट भित्तामा टाँसिदिएको भए ?
तिम्रा छिमेकी त्यै मार्कसिट हेरेर हाँसिदिएको भए ?
तिमीले पढ्नै छाड्ने निर्णय पो गरिसक्थ्यौ कि ?
सोच त, तिमी आफैँ भित्र जलेर मरिसक्थ्यौ कि ?
तिम्रो काम पढाउने हो, शिष्यको मस्तिष्क भरिदेउ,
विन्ती, मास्टर साहेव अब त होसमा आउ,
विद्यार्थीको ग्रेडसिट सार्वजनिक नगरिदेउ ।

-के आर ढकाल, पोखरा

Post a Comment