पहिलो सम्मान

 २०६२ साल !

घर छाडेर पोखरा आएको करिब १ वर्ष भएको थियो । बसाइ पोखरा, फुलबारीमा थियो । तिजको बेला, वडा स्तरीय महिला न्यायिक मञ्च पोखरा ११ ले तिजगित प्रतियोगिता आयोजना गरेको रहेछ । म प्रतियोगिता भएको स्थानमा गित सुन्न गएको थिएँ । सारदा वाँस्तोला आमाले मलाई अति धेरै कर गरेर एउटा गित गाउन अनुरोध गर्नुभयो । त्यतिबेला "बुहारीको बेदना" भन्ने तिजगित चलेको थियो । मैले त्यही गितको बिपरित ध्रुबमा बसेर एउटा गित तयार गरेको थिएँ, "सासुको बेदना" । मैले अप्रतियोगी रूपमा उक्त तिजको गित गाइदिएँ

"कस्तो आयो जमाना नि आठ बजे उठनी,
मुखै नधोइ भात खानी थालमै चुठनी !"....


गित गाएर स्टेजबाट झर्नै लाग्दा स्टेजमा भएका अतिथिले मलाई रोक्नुभयो । अबिर ल्याएर टीका लगाइदिनुभयो । पछाडिबाट एउटा खाम दिन भनियो, मैले खाम पाएँ । वाद्यवाधकले मलाई बोलाएर आडैमा राखेर छ्याइँछ्याँइ बजाउन भन्नुभयो । २-४ वटा गित प्रस्तुत भइन्जेल त्यहीँ बसेर सुनेँ ।
बेलुका घरमै एउटा प्रमाणपत्र आयो, तिजगित प्रतियोगितामा एकल समूहबाट सहभागी भएको भन्ने बेहोराको । खाम खोलेर हेर्दा खाममा ५०५/- रूपैयाँ रहेछ । त्यतिबेला मेरोलागि त्यो रकम आफूले पाएको सबैभन्दा ठूलो राशीको सम्मान थियो !
यसरी पोखराले मलाई साहित्यमा तानेर ल्याएको हो । कुनैदिन घचेटेर नछाडोस्, म भागेर जान्न ।

Post a Comment