"मेडम मैले त्यो दिन पौडी खेलेको थिइन ।"

२०५३ साल । 

म कक्षा ३ मा पढ्थेँ । श्री जनकल्याण प्राथमिक विद्यालय, थप्रेक २, सिम्ले (हाल श्री जनकल्याण आधारभूत विद्यालय, शुक्लागण्डकी १) तनहुँ मेरो विद्यालयको नाम । कक्षामा जान्ने विद्यार्थी मध्येमै परिन्थ्यो । 


तुलनात्मक रुपमा विद्यार्थीहरु अल्ली बढी चकचके स्वभावका भइहाल्छन् । हामी पनि थियौँ होला । गर्मी मौसमको एक दिन, हाफछुट्टीमा साथीहरु सिम्लेको खोल्सामा भएको सानो 'रह'मा पौडी खेल्न गए । म पौडी खेल्न नजान्ने अझ भनौँ डराउने मान्छे थिएँ, त्यसैले गइन । कक्षामा पौडी खेल्न वा खेलेको हेर्न नजाने म मात्रै थिएँ । मैले आइडिया निकालेँ, हाफछुट्टीमै होमओर्क सक्दिने अनि होमओर्क गर्न थालेँ । 

पाँचौँ घण्टी बज्यो । एकजना मेडम (नाम भन्दा मेडमलाई असर पर्न सक्ने भएकाले गोप्य राखेको छु) पढाउन मेरो कक्षामा आउनुभयो । कठै नि, विद्यार्थी त कक्षाभरीमा म एउटा मात्रै । "अरु साथी कता गए ?" भनेर मेडमले सोध्नुभयो, मैले पौडी खेल्न गएको कुरा भन्दिएँ । मेडमले मलाई साथी बोलाउन पठाउनुभयो । बच्चा बेलाको समय, साथीले कारबाही भोग्ने भए भन्ने कुराले पनि खुसी नै बनायो । बनाउन हुन्थेन, जोगाउन पर्थ्यो, अहिले पो बुद्धि आउँछ त, त्यति बेला त साथीलाई पिटाइ खान बोलाउन गइयो नि । सिम्लेको खेतको छेउमा तिँजुको बोट समाएर चिच्याएँ, "ओइ जम्मैले सुनो, ... मेडम कक्षामा आउनुभ'छ, छिट्टो आओ अरे, मेडमले पिट्नी भनेर लौरो नि ल्याउनो'छ ।" 

एक सासमा यति सुचना दिएपछि दायाँबायाँ कहीँ नहेरी स्याँस्याँ र फ्याँफ्याँ गर्दै फर्केर फेरी स्कुलमै आएँ । कक्षामा पस्न लाग्दा मेडमले बाहिरै रोक्नुभयो । ३ ४ मिनेट पछि साथीहरु पनि असिन पसिन हुँदै आइपुगे । मेडमले सबैलाई लाइन लाग्न भन्नुभयो । लाइनको अगाडि म उभिएँ, मेरो पछाडी अरु । म त्यतिन्जेल पनि खुसी नै थिएँ किनकी साथीहरुले सजाय पाएको मैले हेर्न पाउनेवाला थिएँ तरपनि म केही बोलेको थिइन । सायद अनुहारमा खुसी भने देखिएको थियो होला ।  

मेडमले सबैभन्दा पहिला मलाई हात थाप्न भन्दै लौरो उचाल्नुभयो, अब भने मेरो होस उड्यो । मैले आफू पौडी खेल्न नगएको बताएँ । मेडमले (कु)तर्क पेस गर्नुभयो, "साथीहरुलाई बोलाउन जाँदा खेलिस् होला !" मैले खेलेकै होइन भनेर सफाइ पेस गरेँ । मेडमले नै पठाएर साथीहरुलाई बोलाउन गएको स्मरण गराएँ, मेडमले मान्नुभएन । वास्तवमा उहाँलाई पनि थाहा थियो कि म यति छोटो समयमा फर्किएको थिएँ कि कुनै पनि हालतमा पौडी खेल्ने त के कुरा पानी भएको ठाउँमा पुगेर फर्किन पनि सम्भव थिएन । तरपनि उहाँ मान्नुभएन र मेरो हातमा एक लठ्ठी हान्नुभयो । त्यसपछि सबै साथीहरुले पालैपालो पिटाइ खान सुरु गरे । 

एक त म ३ कक्षामा पढ्ने, त्यहीँमाथि सानो कदको विद्यार्थी । थप प्रतिवाद केही गर्न सकिन । आँखामा आँसु लिएर कक्षामा गएँ । त्यसपछि त्यो दिन के पढियो ? के गरियो ? केही पनि सम्झनामा छैन । तर मलाई पिर चाहीँ नमेटिने गरी पर्यो । 

अहिले म शिक्षक भएको छु । त्यही दिनको घटनाले मेरो जिवनमा एउटा बानीको विकास भयो । मैले कुनैपनि विद्यार्थीलाई कारबाही गर्न पर्यो भने सधैँ उसलाई स्पष्टिकरण पेस गर्ने पर्याप्त मौका दिने गर्छु । उसको स्पष्टिकरण सुन्छु र फरक दृष्टीबाट समेत घटनालाई बुझ्ने प्रयास गर्छु । त्यस मानेमा मलाई मेडमले राम्रै शिक्षा दिनुभएको ठान्छु । 

अब पनि उहाँलाई कुनै दिन भेट्न पाएँ भने आदरपूर्वक आफ्नो कुरा राख्न मन छ, "मेडम मैले त्यो दिन पौडी खेलेको थिइन ।" 

Post a Comment